
Pbu
pku


काठमाडौं । सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता बस नभेटिएपछि भारतीय टोली आइतबार फर्किएको छ ।
गत असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता २ वटा यात्रुबाहक बस खोज्न साउन ४ गते १२ जनाको भारतीय टोली नेपाल आएको थियो । लगातार ८ दिनसम्म अत्याधुनिक प्रविधिसहित त्रिशूलीका विभिन्न ठाउँमा हराएका खोज्दा पनि नभेटिएपछि भारतबाट आएको टोली फर्किएको विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा भीष्मकुमार भूसालले जानकारी दिए ।
शुक्रबार बस खोज्न भारतीय टोलीले ल्याएको चुम्बक नै हराएको थियो । अत्याधुनिक सोनार क्यामेरा लगायतका उपकरणसहित १२ सदस्यीय टोलीले खोजी कार्य सुरु गरेको थियो । भारतीय टोली फर्किए पनि नेपाली उद्धार टोलीले भने खोजी कार्य जारी राख्ने डा. उप्रेतीले जानकारी दिए । ‘भारतीय टोली फर्किए पनि हाम्रो टोलीले खोजी जारी नै राख्ने छ । खोजी कार्य टुंगिएको छैन’ उनले भने, ‘अतिरिक्त प्रयास भइरहेको छ ।’
त्यस्तै असार २८ गते चितवन महानगरपालिका–२९, सिमलतालमा गएको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर २ वटा यात्रुबाहक बस बेपत्ता छन् । वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदो सहितको पहिरोले बगाएर त्रिशूली नदीमा हुलेको थियो । हराएका बस खोज्न भारतबाट आएको भारतीय नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को टोलीसँगै नेपालको विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार,नेपाली सेनाको विपद व्यवस्थापन गण रसौली,सशस्त्र प्रहरीलगायत उद्धार तथा खोजीमा संलग्न थिए । तर, १७ दिनसम्म विभिन्न उपकरणसहित खोजी कार्य जारी राख्दासमेत हराएका २ वटै बस भेटिएका छैनन् ।
यस्तै दुबै बसमा रहेका कुल ६५ यात्रुमध्ये ३ जना हामफालेर बाँचेका थिए भने अहिलेसम्म २० जनाकोमात्रै शव भेटिएको छ । त्यसमध्ये ४ जनाको शव अझै सनाखत हुनसकेको छैन । २ जनाको शव भारतीय भूमिमा फेला परेको थियो । बसमा सवार बाँकी यात्रुको अवस्था अझै अज्ञात छ । दुर्घटनामा परेका कतिपय यात्रुका परिवारले कुशको शव बनाएर अन्तिम दाहसंस्कार प्रक्रिया पनि पूरा गरिसकेका छन् ।
त्यस्तै पछिल्लो समय बसमा यात्रारत यात्रुका शवसमेत फेला पर्न छाडेकाले बस फेला पर्ने सम्भावना न्यून रहेको विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखाका एक कर्मचारीले बताए । ‘अबचाहिं सम्भावना छैन । त्यहीँ पनि हाम्रोतर्फबाट खोजी प्रयत्न जारी राखौं भन्ने मात्रै हो’, ती कर्मचारीले संचार कर्मीलाई बताए ।
