
Bs1
Pbu
Gsl


काठमाडौं । आगामी वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने प्रतिनिधि सभा सदस्य उपचुनावका उम्मेदवारविरुद्ध उजुरी भए आज दर्ता गर्न सकिने भएको छ। निर्वाचन आयोगले उपचुनावका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने जनाएको छ।
त्यस्तै उपचुनावका लागि सोमबार उम्मेदवारी दर्ता भएको थियो। तनहुँ–१ मा ९ जना, चितवन–२ मा २४ जना र बारा–२ मा ३६ जना गरेर कुल ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये दलको तर्फबाट ३३ जना र ३६ जना स्वतन्त्र उम्मेदवार छन्। ती उम्मेदवारविरुद्ध उजुरी परेमा चैत २२ गते छानबिन गरी सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ।
उम्मेदवारी फिर्ता लिन चाहनेका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ। वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा तनहुँ क्षेत्र नम्बर–१ बाट विजयी हुनुभएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र रिक्त छ।
यस्तै चितवन–२ बाट निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि उहाँको सांसद् पद गएको थियो। त्यसपछि सो क्षेत्र रिक्त छ। बारा क्षेत्र नम्बर–२ बाट निर्वाचित जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र पनि रिक्त छ। रिक्त रहेका तीन वटै क्षेत्रमा वैशाख १० गते एकैदिन उपचुनाव हुन लागेको हो।
