दाङ । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । संसद विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो । शनिबार दाङको तुलसीपुरमा विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिपक गिरीले पुस ५ गतेका दिन प्रतिनिधि सभा विघटन गरेर नेकपाका अध्यक्ष केपी शर्मा ओलीले ठूलो गल्ती गरेको बताउनु भएको छ ।
दाङमा नेपाली कांग्रेसले आयोजना गरेको विरोध सभामा पूर्वमन्त्री गिरीले पार्टी भित्रको कलह मिलाउन नसकेको झोकमा प्रतिनिधि सभा नै विघटन गरेको उहाँको भनाइ छ । दुई तिहाई बहुमतको दम्भको सनकमा संवैधानिक व्यवस्था विरुद्ध यस्तो कदम चालेको उहाँले बताउनु भयो । कम्युनिष्ट शासकहरुले गरिव बिपन्न समुदायलाई माथि राखेर राजनीति गर्छौ भन्ने र सनकमै निर्णय गरेर नागरिकलाई पटक पटक दुख दिने गरेको गिरीले स्मरण गराउनु भयो । सर्वसाधारण नगारिकहरुले पनि बुझि सकेका छन्, पटक पटक सत्तामा जाने र उन्माद देखाउन यस्ता प्रवृत्तिका पार्टीलाई सहयोग नगर्ने दावी उहाँको थियो ।
लुम्बिनी प्रदेशसभा सदस्य एवम नेता एवं पूर्वराज्यमन्त्री डिल्लीबहादुर चौधरीले लोकतान्त्रिक संविधान माथि धावा बोल्ने विरुद्ध नेपाली कांग्रेस कफन बाँधेर प्रतिबाद गर्ने बताउनु भयो । प्रजातन्त्रका लागि वीपीको योगदान देखि वर्तमान पार्टी सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संविधान जारी गर्दाको प्रभावकारी भूमिका बारेमा चौधरीले चर्चा गर्नु भयो । ठूलो संघर्ष र बलिदानीबाट प्राप्त संविधान र लोकतन्त्रलाई सनकका भरमा समाप्त पार्न कसैलाई पनि छुट नहुने उहाँको जोड रहेको थियो ।
लुम्बिनी प्रदेश सभासदस्य एवम् नेपाली कांग्रेसका नेता शंकर गिरीले राजा महेन्द्र र राजा ज्ञानेन्द्रले संविधान च्यातेर सत्ता कब्जा गरेको झल्को प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकारले गरेको बताउनु भयो । त्यसकारण अब कांग्रेस र लोकतन्त्र पक्षधर रक्षाकवच भएर सडकमा आउनुको बिकल्प नभएको उहाँको भनाइ छ ।
दाङ निर्वाचन क्षेत्र नम्बर ३ (क) का सभापति घनश्याम ढकालको सभापतित्वमा भएको विरोध सभामा नेपाली कांग्रेस जिल्ला कमिटि सचिव टेकबहादुर वली, महासमिति सदस्य देविका नेपाली लगायतले बोल्नु भएको थियो । क्षेत्रिय कार्यालय तुलसीपुरबाट सुरु भएको विशाल बिरोध ¥यालीले प्रदर्शन गर्दै तुलसीपुरको वीपी चौकमा बिरोध सभामा परिणत भएको थियो । कार्यक्रमको सहजीकरण सचिव चुर्णबहादुर चौधरीले गर्नु भएको थियो । त्यस्तै,पश्चिम दाङको श्रीगाँउमा पनि नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ (ख) को बिरोध सभा सभापति खीमबहादुर वलीको सभापतित्व, काग्रेस केन्द्रीय सदस्य दिपक गिरीको प्रमुख आतिथ्यिमा भएको थियो । त्यसैगरी क्षेत्र नम्बर १ दाङले पनि लमहीमा विरोध र्याली प्रदर्शन गर्दै कोणशभा सम्पन्न गरेको थियो ।