दाङ । आजबाट देशभरका कार्यालय सहयोगीदेखि अधिकृत स्तरका झन्डै १ लाखभन्दा बढी कर्मचारी आन्दोलन गर्न लागेका छन् ।
सरकारले कार्यालय सहयोगी,खरिदार,नायव सुब्बादेखि अधिकृत तहसम्मका कर्मचारीको हक अधिकारलाई सङ्कुचन गर्दै सङ्घीय निजामती सेवा ऐन जारी गर्न लागेको भन्दै त्यस विरूद्ध देशभरका कर्मचारी एकैपटक आन्दोलनमा उत्रन लागेका हुन् । यसै सन्दर्भमा दाङको जिल्ला प्रशासन कार्यालय देखि सबै सरकारी कार्यालयका निजामती कर्मचारीहरु आन्दोलित भएका छन् । ११ सूत्रीय मागलिएर उनिहरु आन्दोलनमा उत्रिएका हुन् । हातमा कालो पट्टि बाँधेर सेवा सुचारु गर्दै आन्दोलन जारी राखेका छन् ।
त्यस्तै उनीहरूले कर्मचारीमैत्री र सेवामैत्री हुनेगरी तीन वटै तहका लागि निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने,तीनै तहमा कार्यरत कर्मचारीलाई निजामतीको परिभाषामा समावेश गर्नुपर्ने तथा वृद्धि विकासको स्पष्ट र वैज्ञानिक व्यवस्था गर्नुपर्ने लगायत १० बुँदे मागपत्रसहित आन्दोलन गर्ने बताएका छन् ।
यसअघि उनीहरूले मुलुकको प्रमुख प्रशासकीय निकाय सिंहदरबारमा मागपत्र वितरण गरिसकेका छन् । सोही पत्रमार्फत कर्मचारीहरूले प्रधानमन्त्री, मन्त्री,मुख्य सचिव,तथा सचिवको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।