दिपक वली/घोराही आइतबार, भाद्र २८, २०८३

दाङ । राष्ट्रिय बाल दिवसको अवसरमा गुरुकुल एकेडेमीका ३ स्कुल घोराही,लमही र तुलसीपुर शाखाले विभिन्न खेलकुद प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न गरेका छन् ।

बालबालिकाको शारीरिक,मानसिक तथा सामाजिक विकाससँगै उनीहरुमा नेतृत्व, अनुशासन र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले विभिन्न खेलकुद गतिविधि सञ्चालन गरिएको हो।बाल दिवसको अवसरमा आयोजित प्रतियोगितामा विद्यार्थीहरुले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

विद्यालय परिसरमा भएको खेलकुद गतिविधिले विद्यार्थीमा पढाइसँगै खेलकुद र अतिरिक्त क्रियाकलापको महत्व झल्काइएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा विजेता समूहलाई पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

गुरुकुल एकेडेमी लमहीमा प्रधानाध्यापक विवेक देवकोटाको अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा बाल दिवस विशेष कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख चौधरीले बालबालिकाको सर्वाङ्गीण विकासका लागि शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउनुपर्ने बताए । उनले खेलकुदलाई केवल मनोरञ्जनका रूपमा नभई बालबालिकाको अनुशासन, आत्मविश्वास,नेतृत्व क्षमता र स्वस्थ जीवनशैली निर्माण गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्ने धारणा राखे । उनले भने, “बालबालिकामा लुकेर रहेको प्रतिभा पहिचान गर्ने सबैभन्दा राम्रो माध्यममध्ये खेलकुद पनि एक हो । विद्यालयले पढाइसँगै खेलकुदलाई प्राथमिकता दिँदा बालबालिकाको व्यक्तित्व विकास अझ बलियो हुन्छ ।”

यस्तै गुरुकुल एकेडेमी घोराहीमा प्रधानाध्यापक प्रदीप राजभण्डारीको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख ज्योतिष धनबहादुर वलीको प्रमुख आतिथ्यतामा बाल दिवस विशेष खेलकुद कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वलीले बालबालिकाको क्षमता कक्षाकोठाभित्रको पढाइबाट मात्र पूर्ण रुपमा पहिचान हुन नसक्ने बताए । उनले खेलकुद तथा अतिरिक्त क्रियाकलापले विद्यार्थीभित्र रहेको सिर्जनात्मकता, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना बाहिर ल्याउने बताए । उनले भने, “शिक्षाले ज्ञान दिन्छ भने खेलकुदले त्यो ज्ञानलाई व्यवहारमा उतार्ने आत्मविश्वास र अनुशासन सिकाउँछ । त्यसैले असल,सक्षम र जिम्मेवार नागरिक निर्माणका लागि शिक्षासँगै खेलकुदलाई पनि उत्तिकै महत्व दिन आवश्यक छ।”

यसैगरी गुरुकुल एकेडेमी तुलसीपुरमा प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समितिका निवर्तमान कार्यालय प्रमुख पद्मा चौधरीको प्रमुख आतिथ्यतामा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि चौधरीले खेलकुदले बालबालिकालाई शारीरिक रुपमा स्वस्थ बनाउनुका साथै हार र जितलाई सहज रुपमा स्वीकार गर्न सिकाउने बताइन । उनले विद्यालय तहबाटै खेलकुदको संस्कार विकास गर्न सके भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिने धारणा राखिन ।उनले भनिन, “खेलकुदमा सबैभन्दा ठूलो कुरा जित मात्र होइन, सहभागिता, अनुशासन र निरन्तर प्रयास हो । आजको खेलमैदानमा सिकेको अनुशासन र संघर्षले बालबालिकाको भोलिको जीवनलाई सफल बनाउन ठूलो भूमिका खेल्छ ।”

तीनवटै शाखामा आयोजना गरिएका प्रतियोगितामा विद्यार्थीहरुले विभिन्न खेल तथा मनोरञ्जनात्मक गतिविधिमा उत्साहजनक सहभागिता जनाएका थिए । प्रतियोगिताका विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई सम्बन्धित कार्यक्रमका प्रमुख अतिथिहरुबाट पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
बाल दिवसका अवसरमा आयोजित यस्ता कार्यक्रमले विद्यार्थीलाई नियमित पढाइबाट केही समय बाहिर निकालेर आफ्नो क्षमता,प्रतिभा र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गरेको विद्यालयले जनाएको छ ।

शिक्षा,संस्कार र संस्कृतिलाई आफ्नो मूल आधार बनाउँदै आएको गुरुकुल एकेडेमीले बालबालिकाको सर्वाङ्गीण विकासका लागि शैक्षिक गतिविधिसँगै खेलकुद,सिर्जनशीलता र सामाजिक गतिविधिलाई समेत प्राथमिकता दिँदै आएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]