
Rgp
Sdc
Ksbus
Ggp
Ggp
Lnp
Msbus
Ksbus
Asbus


दाङ । नेकपा एमाले,नेकपा,जसपा र जनमोर्चाको समर्थनमा बनेको लुम्बिनी प्रदेश सरकारमा नेकपाबाट तीन जना मन्त्री थपिएसँगै मन्त्रिपरिषद सदस्यहरुको जिम्मेवारी हेरफेर गरिएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ तीन मन्त्री नियुक्त गर्दै केही साविकका मन्त्रीको जिम्मेवारी परिवर्तन गरेका हुन् । जसअनुसार कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी कृष्ण कुसुम थारूलाई दिइएको छ । यसअघि कृषि तथा भूमि व्यवस्था मन्त्री रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै,रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालयबाट सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा पठाइएको छ भने स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिपेन्द्रकुमार पुनलाई दिइएको छ ।
त्यस्तै,यसअघि सामाजिक विकास मन्त्री रहेका सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र भण्डारीलाल अहिरलाई आन्तरिक मामिला,कानुन,उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी यथावत राखिएको छ ।
नेपाली काङ्ग्रेसले सरकार छाडेपछि मुख्यमन्त्री आचार्यले आफैंसँग राखेको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी इन्द्रजित थारुलाई दिइएको छ । मन्त्रिपरिषद हेरफेरसम्बन्धी प्रदेश प्रमुखको कार्यालयका सचिव राजेश गौतमद्वारा हस्ताक्षरित पत्र लुम्बिनी प्रदेशसभा सचिवालयमा पठाइएको छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री आचार्यको सिफारिसमा मन्त्रिपरिषद विस्तार गरी नयाँ मन्त्रीलाई भदौ ९ गते मंगलबार दिउँसो ३ बजे शपथ गराउने तयारी गरिएको छ ।
प्रदेश प्रमुखको कार्यालयले भदौ ८ गते सोमबार जारी गरेको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् विस्तार गर्न लागिएको उल्लेख छ।मन्त्रीहरूको शपथसँगै लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषदले पूर्णता पाउनेछ ।
