
Amb
ksbus
Sdc


दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी स्थित राप्ती आधारभूत अस्पतालले ७० वर्षमाथिका जेष्ठ नागरिक तथा असहाय–बेसहारा नागरिकलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।
स्वास्थ्य सेवामा आर्थिक अवस्था बाधक नबनोस् भन्ने उद्देश्यले अस्पतालले चिकित्सकको परामर्श, स्वास्थ्य परीक्षण,आवश्यक औषधि र आधारभूत उपचार निःशुल्क उपलब्ध गराइरहेको जनाएको छ ।
राप्ती आधारभूत अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुशील केसीले उपचार खर्चका कारण कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले यो सेवा सञ्चालन गरिएको बताए । आवश्यक परेका बिरामीलाई थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्था सँग समन्वय गरि रिफर गर्ने व्यवस्था पनि गरिएको उनले जानकारी दिए ।
राप्ती गाउँपालिकाका अध्यक्ष तथा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश विष्टले स्थानीय सरकारले स्वास्थ्य सेवालाई नागरिकको घरआँगनसम्म सहज रूपमा पहुँचयोग्य बनाउने लक्ष्यका साथ कार्यक्रम अघि बढाइरहेको बताए ।
उनका अनुसार गाउँपालिकाले पालिकाभित्रका ८० वर्षमाथिका जेष्ठ नागरिक,गर्भवती तथा सुत्केरी महिला, अपाङ्गता भएका क र ख वर्गका नागरिक, सडक दुर्घटनाका घाइते तथा बेसहारा नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराउँदै आएको छ ।
राप्ती आधारभूत अस्पतालमा राप्ती गाउँपालिकाका बासिन्दासँगै छिमेकी स्थानीय तह र अन्य जिल्लाबाट समेत दैनिक रूपमा बिरामी उपचारका लागि आउने गरेकाे अस्पताल प्रशासन प्रमुख पृथ्वी पाैडेलले जानकारी दिए ।
अस्पतालले नियमित ओपीडी,आकस्मिक सेवा, प्रयोगशाला, एक्सरे,फार्मेसी लगायत आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ ।गाउँपालिकाले स्वास्थ्य क्षेत्रको पूर्वाधार विस्तार, आवश्यक जनशक्ति व्यवस्थापन र सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको जनाएको छ ।
