
Lnp
Rgp
Sdc
Msbus
Ksbus
Asbus
Ggp
Ggp
Ksbus


दाङ । देउखुरीको राप्ती गाउँपालिकाले“ज्येष्ठ नागरिकसँग अध्यक्ष” कार्यक्रम सञ्चालन गरेको छ।
उक्त कार्यक्रमअन्तर्गत शुक्रबार वडा नम्बर ४ स्थित मौरीघाट सामुदायिक स्वास्थ्य इकाईमा विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो। स्वास्थ्य शाखाका अनुसार शिविरमा २२ जना पुरुष र ५९ जना महिला गरी ८१ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो।
त्यस्तै ६० वर्षभन्दा माथिका नागरिकहरुलाई लक्षित गरी आयोजित शिविरमा ढाड,कम्मर,हातखुट्टाका जोर्नी दुख्ने,मधुमेह,उच्च रक्तचाप,दमजस्ता दीर्घरोगका लक्षण देखिएका बिरामीहरुले सेवा लिएका थिए । उनीहरुको अवस्थाअनुसार निःशुल्क औषधि वितरण र आवश्यक परामर्श प्रदान गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
यस्तै वरिष्ठ हाडजोर्नी,नसा तथा बाथरोग विशेषज्ञ डा. राजकृष्ण श्रेष्ठका अनुसार अधिकांश ज्येष्ठ नागरिकमा उमेरसँगै देखा पर्ने समस्या देखिएका थिए। उनले भने, “धेरैजसोमा दीर्घकालीन उपचार नपाएका पुराना रोगहरु देखिए । औषधि सेवनसँगै दैनिक जीवनशैलीमा पनि ध्यान दिनुपर्ने आवश्यकता छ।”
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी गाउँमै विशेषज्ञसहितको सेवा पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । “पाका पुस्ताका आमा–बुबाहरुसँग स्वास्थ्य समस्या छन्, तर उपचारका लागि टाढा जान नसक्ने अवस्था छ, त्यसैले हामी उहाँहरुको घरदैलोमै पुगेका हौं,” अध्यक्ष विष्टले भने ।
“ज्येष्ठ नागरिकहरुको नियमित स्वास्थ्य परीक्षण निःशुल्क गरिन्छ ।” शिविरमा डा. श्रेष्ठसहित गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत धनबहादुर बुढा क्षेत्री, जनस्वास्थ्य निरीक्षक पदमप्रसाद पौडेल,पोषणराज ढकाल,मौरीघाट सामुदायिक स्वास्थ्य इकाई प्रमुख सिनियर अनमी निरीक्षक जानका रोका,अहेब चेतना पोख्रेल तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता थियो।
