Sidha Patra आइतबार, आषाढ १५, २०८२

काठमाडौँ । हरेक वर्ष झैं असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभ कार्यका लागि घरबाहिर निस्कने,विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।

त्यस्तै दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्नेजस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

यस्तै पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रूप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

धान दिवस

विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एक पटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

त्यस्तै यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुनसकेको छैन । कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको दाबी गरेको छ । रासस

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]