
Csbg-7
Msbg-2
Rksr-7
Jsbr-3
Gsbg-3
Usbl-7
ksbl-7
Pbu
Jsbg-7
Gsbr-6


दाङ । विहीवार मजदुर दिवस । दिवसका दिन गढवाका अधिकांश वडाहरुका गाउँ वस्तिहरुमा पुग्दा मजदुरहरु कसैले घरको छत ढलाई गरिरहनु भएको थियो त कसैले टायल लगाई रहेका थिए ।
कसैले सोलीङ गर्दै तसलामा मसला बोकेर भूई ढलाई गरिरहेको देखिन्थ्यो । कुनै मजदुरहरु घरका भित्ताहरु पलस्तर गरिरहेका थिए त कसैले गोठमा टिनको छानो छाउँदै थिए । मजदुरहरु आफ्नै लयमा निरन्तर काम गरिरहनु भएको पाईन्थ्यो । सरकारले मान्यता दिएको मजदुर दिवसले काम गरेर खाने वर्गलाई कत्तिपनि छोएको देखिदैनथ्यो ।
गढवा गाउँपालिका वडा नम्बर–७ कान्छीगाउँका डकर्मी (मिस्त्री) केशराम चौधरीलाई मजदुर दिवसका दिन अर्काको घरमा टायल लगाउन भ्याईनभ्याई छ । आज मजदुर दिवसका दिन दिवस नमनाएर काम गरिरहनु भएको छ ? भन्ने जिज्ञासामा उनले भने हुन्छ–दिवस बारे मलाई थाहा छैन, साहुको काम छिट्टै भ्याउनुपर्ने छ । काम नगरी घरमा बसी दिवस मनाएर खान लाउन पाइदैन, हामी १२ मासे काम गर्ने मजदुर हो । काम पाएको बेला दिवस भनेर छोड्यो भने कस्ले खान दिन्छ?–चौधरीले भने ।
गढवा–७ घोराहाका क्षेत्रपाल चौधरीले पनि मजदुर दिवसका दिन ४ जना लेवर परिचालन गर्दै गढवा ६ बालाखुटीमा गोठ बनाउने काम गरिरहेका थिए । मजदुर दिवसका दिन पनि हामी काम गर्न बाध्य छौं–उनले बताए । काम नगरी खान लाउन पुग्दैन, काम पाएको बेला दिवस मनाउन थालियो भने सरकारले खान लाउन दिन्न क्यार–चौधरीले भने । मजदुर दिवसका बारेमा खासै चाँसो पनि छैन र जानकारी पनि छैन–उनले भने ।
उनिहरु जस्तै गढवा–७ का मन्तुनी चौधरी, स्यानी चौधरी र दिलमाया नेपाली पनि मजदुर दिवसका दिन अर्काको घर बनाउने काममा मजुरी गरिरहेको बताउछन् । हामी काम गरेर खाने मान्छे हो हामीलाई दिवसका बारेमा केहि थाहा छैन । दिवस भनेर काम नगरी खाली बस्यो भने बेलुका चुल्हो कसरी बाल्नु–उनिहरु बताउँछन् ।
बिहिवार गढवा ५ चैनपुर, गढवा ७ शान्तीपुर, गढवा–५ तकियापुर र गढवा–६ बालाखुटीमा मिस्त्रि र लेवर बनेर मजदुरहरुले काम गरिरहेको देखिन्थ्यो । काम गरेर दैनिक जिविकोपार्जन गर्ने मजदुरहरुलाई न त मजदुर दिवस भन्ने थाहा छ, न दिवसको महत्व नै । मजदुरहरुलाई दिवस आउँदा न त हर्ष छ न विस्मात नै । दिवसको महत्वबारे नै मजदुरी गरेर खाने बर्गलाई अत्तोपत्तो छैन । दिवसको नाममा काम नै गर्न छोडेर घरमा बस्दा आफैलाई घाटा हुने र खाने छाक नै बन्द हुने मजदुर दिवसका दिन फिल्डमा काम गरिरहेका मजदुरहरुको भनाई छ ।
मजदुर दिवसको नाममा सरकारका ओहदामा बस्ने र सरकारी जागीर खानेलाई मात्र एक दिनको विदा गरेर कुनै अर्थ नभएको स्थानीय सामाजिक अभियन्ताहरु बताउँछन् । काम गरेर खाने मजदुरहरुलाई दिवसले संबोधन गर्न सकेमा मजदुर दिवसले मजदुरलाई बल्ल छुने छ । मजदुर दिवस त मजुरी गरेर छाक टार्ने वर्गसम्म पुग्न सक्नु पर्दथ्यो तर लक्षित वर्ग समुदायसम्म दिवसहरु पुग्दैनन् । मेहनत गरेर कमाई खाने वर्गका लागि दिवस हुन सक्नु पर्छ–स्थानीय जानकारहरुको भनाई छ ।
विद्यालयका शिक्षकहरु र सरकारी कर्मचारीलाई त दिवसले छोला तर काम गरिखाने मेहनतकस वर्गलाई यस्ता नाम मात्रका माजदुर दिवस र अन्य समारोहले छुन नसक्ने स्थानीयहरु बताउँछन् ।
