काठमाडौँ । भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’को उपाधिका निम्ति आज नेपाली क्रिकेट टिम र गुजरात क्रिकेट एसोसियसन बिच प्रतिस्पर्धा हुँदै छ ।
त्यस्तै यसअघि लिग चरणका चारमध्ये तीन खेलमा जित निकालेको नेपाल विजेताको रूपमा फाइनलमा आइपुगेको हो । गुजरात भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा आएको हो ।
त्रिकोणात्मक शृङ्खलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसियसनले प्रतिस्पर्धा गरेका थिए । लगातार तीन खेलमा पराजित भएको बरोडा भने लिग चरणको अन्तिम खेल अगावै उपाधि होडबाट बाहिरिइसकेको थियो ।
यस्तै नेपालले निकट भविष्यमा ओमानमा आयोजना हुने एसीसी प्रिमियर कप र त्यसपछि अमेरिका र वेस्ट इन्डियमा संयुक्त रुपमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा भारतीय क्लबसँग त्रिकोणात्मक शृङ्खला खेलेको हो ।
त्यस्तै एसीसी प्रिमियर कपको दोस्रो संस्करण अप्रिल १२ देखि २१ तारिखसम्म आयोजना हुँदैछ । एसीसी प्रिमियर कपमा सहभागी हुन नेपाली टोली भारतबाटै ओमान प्रस्थान गर्ने कार्यक्रम रहेको छ । नेपाल एसीसी प्रिमियर कपको साविक विजेता पनि हो । एसीसी प्रिमियर कपको पहिलो संस्करण एक वर्षअघि नेपालमै आयोजना भएको थियो । उक्त संस्करणको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो ।
आईसीसीको एसोसिएट्स सदस्य राष्ट्रका लागि प्रिमियर कप निकै महत्वपूर्ण प्रतियोगिता हो । भारत भ्रमण र त्यसपछि एसीसी प्रिमियर कपका लागि घोषित नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान),आसिफ शेख,कुशल भुर्तेल,कुशल मल्ल, बिवेक यादब,सन्दीप जोरा,अनिल साह,गुलसन झा, दीपेन्द्रसिंह ऐरी,ललित राजवंशी,करण केसी, सोमपाल कामी,प्रतिस जिसी,अविनाष बोहरा र आकश चन्द छन् । नेपाली टोलीको प्रशिक्षकमा भारतका मोन्टी देसाई रहेका छन् ।