
Pbu
Gsl
ksbus
Bs1


दाङ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले फेरि नेकपा बनाउने तयारी भइरहेको बताएका छन् ।
बुधबार माओवादी जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै दाहालले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरि पहलकदमी भइरहेको बताए । “समाजवादी क्रान्ति सिधा र सरल हुँदैन। यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ । विचार राजनीतिमा व्यापक छलफल, ठूलो ध्रुवीकरण र एकतासहित समाजवादी क्रान्ति हुन्छ,” दाहालले भने, “त्यो हाम्रै पहल र हाम्रै नेतृत्व हुन्छ। नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल रहन्छ।”
त्यस्तै केही दिनमै समाजवादी मोर्चा घोषणा हुने उनको भनाइ थियो। “हिजोको एकता कायम राख्न सम्भव भएन, तर लाखौं जनतालाई एकतावद्ध नगरी क्रान्ति हुँदैन,” दाहालले भने, “एकताका लागि फेरि पहल गर्नुपर्नेछ। समाजवादी मोर्चाको दस्तावेज टुंगाएका छौं। हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ।” उनले एमालेमा पनि एकताका पक्षधरहरू रहेको जिकिर गरे। उनीहरूको नेतृत्व परिवर्तन भएमा एमाले पनि एकताको पक्षमा आउने बताउँदै दाहालले भने, “फेरि नेकपा बनाउने कोसिस भइरहेको छ। यसभित्र ठूलो अर्थ छ।”
यस्तै उनले भ्रष्टाचारलाई निर्मूल पार्ने लक्ष्य रहेको बताए। “भ्रष्टाचारलाई निमूर्ल पारेर नै देश निर्माण गर्न सकिन्छ, पार्टी पुनर्निर्माण गर्न सकिन्छ,” दाहालले भने, “भ्रष्टाचार नियन्त्रण गर्ने सवालमा हामी कसैसँग सम्झौता गर्दैनौं र नक्कली भुटानी शरणार्थी प्रकरणलाई तार्किक निष्कर्षमा पुर्याउँछौं।”
