
Lnp
Ggp
Rgp
Ksbus
Asbus
Msbus
Sdc
Ksbus
Ggp


दाङ । दाङको राप्ती गाउँपालिका–५ स्थित जनता माध्यमिक विद्यालय करङ्गगेकोटमा शौचालय र खानेपानीको समस्या देखिएको रहेकाे छ । पर्याप्त शौचालय नहुँदा विद्यार्थी तथा शिक्षकले शौचालय जानसमेत लाइनमा बस्नुपर्ने अवस्था छ भने वर्षायाम सुरु भएसँगै खानेपानीको समस्या झन् बढेको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयमा रहेका तीनवटा शौचालयमध्ये एउटा जीर्ण भएर प्रयोगविहीन अवस्थामा छ। सञ्चालनमा रहेका दुईवटा शौचालय विद्यार्थी र शिक्षकको संख्याका लागि पर्याप्त नभएपछि शौचालय प्रयोग गर्न पालो कुर्नुपर्ने बाध्यता रहेको विद्यालयकी प्रधानाध्यापक सरस्वती आचार्यले बताएकी छन्।
त्यस्तै,विद्यालयमा खानेपानीको समेत समस्या रहेको उनले बताएकी छिन्। सोलार सिस्टम मार्फत धारा सञ्चालनमा रहे पनि वर्षायाममा पर्याप्त घाम नलाग्दा सोलारले काम नगर्ने हुँदा धारामा पानी नआउने समस्या रहेको र धारामा पानी नआएपछि विद्यालयका शिक्षक तथा कर्मचारीले करिब २०–२५ मिनेट हिँडेर मुहानबाट पानी बोकेर ल्याउनुपर्ने अवस्था रहेको छ । पर्याप्त पानी नहुँदा शौचालयसमेत फोहोर हुन थालेको उनले बताइन् ।
विद्यालय प्रशासनका अनुसार समस्या समाधानका लागि राप्ती गाउँपालिकालाई जानकारी गराए पनि हालसम्म ध्यान पुग्न सकेको छैन।
गाउँपालिकाको शिक्षा शाखाले भने तत्काल स्थलगत अवलोकन गरी अस्थायी रूपमा शौचालय निर्माण गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाएको छ। आगामी हिउँदे अधिवेशनबाट बजेटको व्यवस्था गरी स्थायी शौचालय निर्माण गर्ने तथा खानेपानी समस्या समाधानका लागि सम्बन्धित शाखासँग समन्वय गर्ने शिक्षा शाखाले जनाएको छ।
विकट क्षेत्रका विद्यार्थी अध्ययन गर्ने विद्यालयमा आधारभूत सुविधाका रूपमा रहेका शौचालय र खानेपानीको समस्या लामो समयसम्म रहँदा विद्यार्थीको स्वास्थ्य, सरसफाइ तथा पठनपाठनमा समेत प्रत्यक्ष असर पर्न सक्ने विद्यालय प्रशासनले जनाएको छ।
