
Pbu
Bs1
Gsl


रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्न आकस्मिक कक्षमा ‘ट्र्याज प्रणाली’ लागू गरेको छ ।
यस प्रणालीले गम्भीर प्रकृतिका बिरामीलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराउने उद्देश्य राखेको अस्पताल प्रशासनले जनाएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विष्णुप्रसाद गौतमका अनुसार हाल अस्पतालमा दैनिक दुई हजारदेखि दुई हजार ५०० सम्म सेवाग्राही उपचार तथा स्वास्थ्य परामर्शका लागि आउने गरेका छन् ।
सीमित जनशक्ति र स्रोतसाधनका बीच गम्भीर बिरामीलाई समयमा उपचार उपलब्ध गराउन ट्र्याज प्रणाली प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे । सरकारले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत निजी स्वास्थ्य संस्थामा उक्त सेवा बन्द गरेपछि बिमासम्बन्धी सेवा लिन आउने बिरामीको सङ्ख्या सरकारी अस्पतालमा उल्लेख्य रूपमा बढेको छ । निजी अस्पतालबाट रिफर भई आउने तथा सिधैँ बिमामार्फत सेवा लिन आउने सेवाग्राही थपिँदा प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ ।
त्यस्तै,अस्पतालका मेसु डा.गौतमका अनुसार ट्र्याज प्रणालीमा अस्पताल पुगेका बिरामीलाई पालोका आधारमा नभई स्वास्थ्य अवस्थाको गम्भीरताका आधारमा वर्गीकरण गरिन्छ । अत्यन्त गम्भीर अवस्थाका बिरामीलाई रातो सङ्केतमा राखी तत्काल उपचार सुरु गरिने उनले जानकारी दिए ।
यस्तै,मध्यम तथा गम्भीर अवस्थाका बिरामीलाई पहेँलो सङ्केतमा र सामान्य ज्वरो, हल्का चोटपटक वा केही समय पर्खंदा ज्यानको जोखिम नहुने बिरामीलाई हरियो सङ्केतमा वर्गीकरण गरिने उनले बताए ।
अस्पतालका अनुसार यस प्रणालीले आकस्मिक कक्षको व्यवस्थापन सहज बनाउनाका साथै गम्भीर बिरामीले समयमा उपचार पाउने सुनिश्चितता गर्नेछ । साथै उपचारको पालो कुर्दाकुर्दै ज्यान गुमाउनुपर्ने जोखिम पनि न्यून हुने अपेक्षा गरिएको छ ।
त्यस्तै,अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम उपयोग गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र गुनासोरहित बनाउन आवश्यक सबै प्रयास भइरहेको बताए । उनले उपलब्ध स्रोतसाधन र बढ्दो सेवाग्राहीको चापबीच ठूलो अन्तर रहेकाले सेवा व्यवस्थापन दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरे ।रासस
