
Pbu
Gsbr-6
Jsbr-3
Jsbg-7
Rksr-7
Msbg-2
Usbl-7
ksbl-7
Gsbg-3
Csbg-7


दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कृषि उत्पादन र उद्यमशिलता नै आर्थिक समृद्धिको मुख्य आधार भएको बताएका छन् । उनले कृषिमा आत्मनिर्भरता र सहकारीको प्रभावकारी भूमिकाले मात्रै ग्रामीण आर्थिक विकास सम्भव हुनेमा जोड दिए ।
दाङको राप्ती गाउँपालिका–२ लालमटियामा बिहीबार आयोजित लालमटिया साना किसान कृषि सहकारी संस्थाको सातौं वार्षिक साधारणसभाकाे उद्घाटन गर्दै अध्यक्ष विष्टले किसानका समस्याहरू सहकारीमार्फत समाधान गर्न सकिने उल्लेख गरे । “कृषकलाई समयमै मल,बीउबिजन उपलब्ध गराउनुका साथै उद्यम विकासमा उनीहरूलाई जोड्न सहकारीले महत्वपूर्ण भूमिका खेल्नुपर्छ,” उनले भने । अध्यक्ष विष्टले सहकारी संस्था र गाउँपालिकाको सहकार्यले मात्र कृषिमा आधारित उद्यमशिलता प्रवर्द्धन गर्न सकिने धारणा राखे । “हामीले कृषिलाई आधुनिकीकरण गर्दै उत्पादनमा वृद्धि गर्ने हो भने मात्रै आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सक्छौं। किसानहरूको समस्या समाधान गर्न गाउँपालिका सँधै तयार छ,” विष्टले थपे ।
कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले सहकारी संस्थाको महत्त्वमाथि प्रकाश पार्दै महिलाहरूलाई उद्यमशील बन्न प्रेरित गर्न आग्रह गरे । “सहकारीमार्फत साना साना लगानी गर्दै उद्यम सञ्चालन र बचत गर्न सके आर्थिक उन्नति सम्भव छ,” उनले बताइन् । साथै, कृषि सहकारी संस्थाले १० प्रतिशत लगानी कृषिमा केन्द्रित गर्नुपर्ने प्रावधानलाई पालना गर्दै कृषिमा लगानी वृद्धि गर्न आग्रह गरिइन ।
संस्थाका अध्यक्ष सीता पोख्रेलको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष कमलापति चौधरीको विशिष्ट आतिथ्यतामा सम्पन्न सभामा अध्यक्ष सीता पोख्रेलले वार्षिक तथा आर्थिक प्रतिवेदन र लेखा संयोजक प्रतीक्षा अधिकारीले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाकी सदस्य विष्ना केसीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा नेपाल कृषि केन्द्रीय संघका लेखा सदस्य चिरञ्जीवी केसी, प्रदेश कृषि संघका सञ्चालक सदस्य तथा सिसहनियाँ साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष विष्णु गुरूङ, कृषि संघ दाङका अध्यक्ष पदमा आचार्य, सतवरिया साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तेजमणी ज्ञवाली, उरहरी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष अर्जुन बस्नेत, कालिका सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जोहरमान मियाँ, पशु वृद्ध आश्रम तथा गिद्व संरक्षण केन्द्रका संयोजक शिव रानामगर लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सभामा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । जस अनुसार जेष्ठ महिला शेयर सदस्य भगवता न्यौपानेलाई होरलिक्स र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट पशुपालक कृषक चन्द्रा थारूलाई दूध बोक्ने क्यान, उत्कृष्ट बाल बचतकर्ता मोनिका केसीलाई स्टेशनरी सामग्री सहित सम्मान गरिएको थियोे । कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक कविता अधिकारीले गरेकि थिइन् ।
