दाङ । बर्खा लागेकाले शनिबार बिहानै राजपुर गाउँपालिका–२ का स्थानीय जंगलतर्फ च्याउ टिप्न गए। रातिदेखि नै पानी परिरहेको थियो।
दक्षिण भएर चुरेतर्फ बग्ने दरबाजा खोलाको बहाव बिहान सानै थियो। तर, फर्किने बेला भने खोलाको बहाव बढ्यो। १६–१७ जनाको समूहमा रहेका उनीहरु खोलाको बीचमा आएपछि तर्न सकेनन्।
‘रातिदेखि पानी परिरहेको थियो। जंगलमा च्याउ उम्रेका होलान् भनेर हामी जंगलतिर गयौं। अगाडि त खोला सानै थियो। फर्किँदा तरिहालिन्छ नि भनेर खोलामा पस्यौं। तर, बीचमा पुगेपछि भने बहाब बढेपछि तर्न सकेनौं। खोलाको दुवै किनारातर्फ जाने स्थिति नभएपछि बीचमै रोकियौं’, खोलामा फसेकी २८ वर्षीया अन्जना विकले भनिन्।
उनीहरु त्रिशक्ति सामुदायिक वनमा च्याउ खोज्न गएका थिए। खोलामा बाढी आएपछि उनीहरु उतै फसे। लगत्तै उनीहरुले घरमा खबर गरे। घरकाले प्रहरीलाई सूचना दिए।
सूचना पाएलगत्तै रणसिंह दल गण लमही ब्यारेकका क्याप्टेन जलमदेव चौधरी, नं २९ ज्वालामाई गण हेड क्वार्टर भालुवाङका प्रहरी निरीक्षक धनन्जय केही, सशस्त्र प्रहरी बल नं ४१ गण हेडक्वार्टर अर्जुनखोलाका प्रहरी निरीक्षक रिविन्द्र कार्की, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक पुष्पराज थापा, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रन्जु र बेला प्रहरी चौकीका इन्चार्ज तथा वरिष्ठ प्रहरी सहायक निरीक्षक जय राना मगर लगायतको टोली स्थानीय फसेको खहरे खोला पुग्यो।
खोलामा फसेकामध्ये पनि ९ जना ज्यान जोखिममा पारेर खोला पार गरिसकेका थिए। तर, एक बालिकासहित ९ जना महिला भने खोलाको बीचमै फसे। उद्धार टोली पुग्दासम्म पाँच घण्टा बितिसकेको थियो। उनीहरु भने खोलाको बीच भागमै फसिरहे। सेना, शसस्त्र र प्रहरीको टोली पुगेपछि भने दिउँसो साढे दुई बजेतिर उद्धार गरियो।
‘खोलाको दुवैतिरको हंगालो उर्लेर आएको देख्दा त अब बाचिन्न जस्तो लाग्यो। घर परिवार सम्झेर निकै रोयौं’ चप्फाकी ३५ वर्षीया निमा सुनारले भनिन्। बिहान ९ बजेदेखि उनीहरु उक्त खोलामा फसेका थिए। पाँच घण्टासम्म भोकै बीच खोलामा फस्नुपर्दा बाँच्ने आशा नै कम हुँदै गएको उनको अनुभव छ।
‘खोला घटेकै थिएन। हामी तर्नसक्ने अवस्थामा थिएनौं। अब बगाउँछ कि भन्ने लागेको थियो। धन्न पाँच घण्टापछि उद्धार टोली आएर हामीलाई खोलाबाट बाहिर निकाल्यो’, सुनारले भनिन्।
खोलामा फसेका १८ मध्ये ९ जना आफैं तरिसकेका थिए। बाँकी १० जनालाई भने उद्धार टोलीले खोलाबाट निकालेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ।
खोलामा राजपुर गाउँपालिका–२ बेला चप्फाका २३ वर्षीय छवि सुनार, १७ वर्षीया बिनिता सुनार, २८ वर्षीया गीता सुनार, ३५ वर्षीया निमा सुनार, २३ वर्षीया लक्ष्मी सुनार, २२ वर्षीया एलिशा सुनार, २१ वर्षीया प्रमिला सुनार, ३० वर्षीया सुमित्रा सुनार, २८ वर्षीया अन्जना सुनार र ९ वर्षीया बालिका सदीक्षा सुनार रहेका छन्। सदीक्षा अन्जनाकी छोरी हुन्।