काठमाडौं । काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगाबाट प्रहरीले स्रोत नखुलेको करिब ४ करोड रुपैयाँ बरामद गरेको छ । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट मंगलबार प्रहरीले स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७२० रूपैयाँ बरामद गरेको हो ।
उक्त रकम सहित नुवाकोट बिदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिकसहित ५ जनालाई मंगलबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए । नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभात नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा उक्त रकम फेला पारिएको उनले बताए ।
त्यस्तै उक्त रकम कारको डिक्कीमा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त नगदसहित चालक गुरुङलगायत ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद रकमसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई बुझाइएको काठमाडौं प्रहरी प्रवक्ता एसपी मैनालीले बताए ।