दाङ । उपभोक्ताको ढाड सेक्नेगरी सरकारले गरेको मूल्य वृद्धीको विरोधमा अनशन बसेका युवाहरुले अनशन तोडेका छन् । लमही नगरपालिका,नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १, देउखुरी उद्योग वाणिज्य संघ र लमही चेम्बर अफ कमर्सको पहलमा ति युवाहरुले अनशन तोडेको नेपाली कांग्रेस लमही नगर सभापति सन्तोष बुढाथोकीले जानकारी दिए।
लमही नगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा अत्याधिक भैरहेको मूल्यवृद्धीलाई नियन्त्रण गर्न बृहत छलफल गरेर स्थानिय स्तरमा पनि सो कुरा लागु गर्नु पर्ने र मूल्यवृद्धीको विरुद्दमा अहिले सम्म भएको हस्ताक्षरलाई स्थानिय सरकार मार्फत संघिय सरकार समक्ष पुर्याउनु पर्ने अनशन बसेका युवाहरुको माग रहेको छ।
युवाहरुको मागलाई सम्बोधन हुने गरि लमही नगरपालिकाले पहल थाल्ने लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले बताए। मूल्यवृद्धीले सबैलाई चपेटामा पारेको बताउदै स्थानीय स्तरमा पनि यो समस्यालाई नियन्त्रण गर्न सकिन्छ कि भनेर हदै सम्म प्रयास गर्ने नगरप्रमुख चौधरीको भनाई छ।
त्यस्तै नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले तीन दिन देखि केहि नखाई अनशन बसेका युवाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै उनीहरुको माग जायज भएकोले लमही नगरपालिका लगायत नेपाली कांग्रेसका जिम्मेवार व्यक्ति संग समन्यव गर्दै अनशन तोडाएको बताए। उनीहरुको मागलाई सम्बोधन हुनेगरी पार्टीको नेतृत्वतह सम्म कुरा राख्ने सभापति पाण्डेको भनाई छ।
अनशन बसेका दुई युवालाई लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी र नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले जुस खुवाएर अनशन तोडाएका थिए। अनशन बसेका युवाहरुलाई अनशन तोडाउन नेपाली कांग्रेसका नेता जानकीलाल बस्नेत, कर्ण बहादुर बुढाथोकी, मधु न्यौपाने, दिनेश गिरी, लीलाराम खनाल, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, लमही चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपाने लगायतको उपस्थिति रहेको थियो।दाङसमाचार