दाङ । घोराही उपमहानगरपालिका वडा नंम्वर १४ ले आज हाम्रो वडा नामक पुस्तक लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षता तथा प्रेस काउन्सिलका पुर्व अध्यक्ष एवं वरिष्ठ साहित्यकार नारायन प्रसाद शर्माको प्रमुख आतिथ्यता र उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री अर्जनकुमार श्रेष्ठको वशिष्ठ आतिथ्यतामा पुस्तक लोकार्पण तथा सम्मान कार्यक्रम गरेको हो ।
१ सय १० पृष्ठमा छापिएको स्मारिका पुस्तकको समिक्षा गर्दै राप्ति साहित्य परिषद दाङका अध्यक्ष कमलमणी देवकोटाले वडाको नक्सासहित वडाको परिचय, घोराहीको चिनारी, घोराहीग्राम पञ्चायत देखी उपमहानगरसम्म, बालमैत्री स्थानिय शासनका लागि भएका काम, सरसफाई क्षेत्रमा वडामा भएका काम, जनप्रतिनिधीका अनुभव लगाएका विषयमा लेखहरु समाबेस गरिएको जानकारी दिनुभयो । वडामा भएका काम र वडाको ईतिहासलाई परिचित गराउने उद्देश्यले स्मारिका प्रकाशन गर्नु ठुलो उपलब्धी भएको बताउनुभयो ।
प्रमुख अतिथी शर्माले घोराही १४ का जनप्रतिनिधीले वितेको ५ वर्षमा उपमहानगरमै राम्रा र नमुनायोग्य काम गर्न सफल भएको बताउनुभयो । वडाका जनप्रतिनिधीले जनताको आवश्यकता र चाहानालाई मध्यनजर गर्दै काम गर्न सफल भएकाले वितेको पाँच वर्षमा जनताको साथमै जनप्रतिनिधी भएको महशुस गराउन सफल भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री श्रेष्ठले ज्येष्ठ नागरिक दिवा सेवा मिलक केन्द्रको प्रभावकारी सञ्चालनदेखी लिएर महिला बालबालिकाको क्षेत्रमा समेत वडाले उल्लेख्य काम गर्न सफल भएको बताउनुभयो । यसका साथै विकास निर्माणका काममा समेत जनताका आवश्यकतालाई प्रमुखताका साथ समेट्न सकेको बताउनुभयो । घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले वितको पाँच वर्षलाई फर्केर हेर्दा घोराही १४ ले वडाको सर्वागिन विकास गर्न सफल देखिएको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा पुर्व मेयर दामोदर अधिकारी, दाङ जिल्ला उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठ, प्रेस स्वतन्त्रता सेनानी सुशिल गौतम, राप्ति साहित्य परिषदका केन्द्रिय अध्यक्ष टिकाराम उदासीलगाएतले मन्तब्य राख्नुभएको थियो । वडा सदस्य लछुमन बुढाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण डा. लोकराज पराजुलीले गर्नुभएको थियो ।
कार्यक्रममा वडाको बालमैत्री तथा सरसफाई अभियान, खेलकुद एवं विभिन्न सामाजिक क्षेत्रमा सेवा गरी वडालाई सहयोग पुराउने ब्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।