नेपालगञ्ज । लुम्बिनी प्रदेशका अधिकांश जिल्ला र स्थानीय तह साक्षर घोषणा भइसक्दा पश्चिम नेपालको अग्रणी नेपालगन्ज उप–महानगरपालिका अझै साक्षर हुन सकेको छैन ।
उप–महानगरपालिकालाई आगामी फागुन मसान्तसम्म पूर्ण साक्षर बनाउने योजना छ । त्यसका लागि सबै वडाबाट निरक्षरको तथ्याङ्क सङ्कलन सुरु भएको छ भने अबको दुई महिना साक्षरता अभियान सन्चालन गर्ने तयारी भएको छ । नेपालगन्ज उप–महानगरपालिकाले नगरभित्र रहेकाअक्षर नचिन्नेहरूको तथ्याङ्क लिन थालेको छ । तथ्याङ्क संकलनपछि धमाधम साक्षरता कक्षा सञ्चालन गरी नगरलाई साक्षर घोषणा गर्ने कार्यक्रम तय गरिएको हो ।
यो कार्यक्रम उप–महानगरपालिकाको पूर्व निर्धारित कार्यक्रम नभई उस्तै प्रकृतिका कार्यक्रमहरु समेटेर तय गरिएको उप–महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले जानकारी दिनुभयो । निरक्षर रहेका १५ देखि ६० वर्षका उमेरकालाई ४५ दिने साक्षरता कक्षा सञ्चालन गर्न लागिएको छ । निरक्षरहरुको तथ्याङ्क सङ्कलन गर्न नगरमा रहेका एक सय ३० जना बालविकास शिक्षिकालाई खटाइएको छ ।
साक्षरता अभियानलाई सफल बनाउन निरक्षरहरुलाई साक्षरताको महत्व बुझाउने र तीव्र गतिमा नाम लेख्न सक्ने र अक्षर चिन्न सक्ने गरी कक्षा सन्चालन गरिने छ । तर खटिएका परीचालक महिलाहरु साक्षरता कक्षा सन्चालन गर्न विभिन्न चुनौति रहेको बताउँछन् । लुम्बिनी प्रदेशका अधिकांश जिल्ला र स्थानीय तह साक्षर घोषणा भइसक्दा यस क्षेत्रकै अग्रणी उप–महानगरपालिका साक्षर हुन सकेको छैन ।
नेपालगन्ज उप–महानगरपालिकामा करिब १५ हजार जना निरक्षर रहेको आङ्कलन गरिएको छ । २०७६ सालमा सर्वे गर्दा नेपालगन्जमा २० हजार मानिस निरक्षर रहेकोमा त्यसपछि साक्षरता कक्षाहरू पनि सञ्चालन गरिएकोले १५ हजार निरक्षर रहेको हुनसक्ने उप–महानगरका प्रमुख प्रशासकीय अधिकृतसुवेदीको भनाइ छ । अभियानमा करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसमध्ये करिब पाँच लाख रुपैयाँ संघीय सरकारले उपलब्ध गराउने उप–महानगरपालिकाले जनाएको छ ।