बाँके । प्रहरी प्रधान कार्यालयद्धारा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको प्रमुखमा सरुवा गरेर पठाइएका प्रहरी निरिक्षक हिमालय शाहले सोमवार जिल्ला ट्राफिक प्रहरीमा हाजीर भएर कार्य शुरु गर्ने भएको छ ।
उहाँलाई बाँके ट्राफिक प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मा सम्हाल्दै आउनु भएका प्रहरी नायव निरीक्षक सिद्दी गणेश शाह लगायत अन्य प्रहरीहरुले स्वागत गर्नु भएको थियो । कार्यभार सम्हाले लगत्तै त्यहाँ उपस्थित ट्राफिक प्रहरीहरुलाई सम्बोधन गर्दै जिल्लाको ट्राफिक व्यवस्थापनका लागि सबैले मिलेर उल्लेखनीय कार्य गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाँले बाँके जिल्लाको ट्राफिक दैनिक रुपमा बृद्धि हुँदै गएको र त्यसमाथि नेपालगञ्जजस्तो ठुलो सहरको ट्राफिक व्यवस्थापन चुनौतीपुर्ण रहेकोले सो व्यवस्थापनका लागि योजना र रणनिति बनाएर जाने बताउनु भएको थियो ।
बाँके ट्राफिक प्रमुख रुपमा प्रहरी निरीक्षक शाहलाई प्रहरी प्रधान कार्यालयले केही दिन अघि सरुवा गरेको थियो। यसअघिका ट्राफिक प्रमुख ऐन बहादुर मल्लको प्रहरी नायब उपरीक्षकमा बढुवा भएपछि खाली रहँदै आएको स्थानमा प्रहरी निरीक्षक शाह आउनु भएको हो । प्रहरी निरीक्षक शाह लामो समयदेखि प्रधानमन्त्री शेरबहादुर देउवाका अङ्गरक्षक हुनुहुन्थ्यो ।
संगठनप्रति इमान्दारीका साथ कार्य गर्ने प्रहरी निरीक्षक शाहले बाँकेको भौगोलिक र सामाजिक अवस्था राम्रोसँग बुझेकाले ट्राफिक प्रहरीको कमाण्ड सम्हाल्न सहज हुने र बाँके ट्राफिक व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ । मल्लको बढुवापछि एक महिनादेखि बाँके ट्राफिक प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मा प्रहरी नायव निरीक्षक सिद्दी गणेश शाहले सम्हाल्दै आउनु भएको थियो ।